सामूहिक फापर खेती
खलङ्गा - जुम्लाको तिला गाउँपालिकास्थित घोडेगाउँमा सामूहिक फापर खेती गर्न थालिएको छ । बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाई दिएपछि सामूहिक खेती थालिएको हो ।
स्थानीयवासी जङ्गबहादुर रोकाया सदरमुकाम खलङ्गा बजारमा होटल व्यवसाय चलाउँदै आउनुभएको थियो । लकडाउनले व्यवसायलाई असर पु¥याएपछि उहाँ गाउँ फर्किइ खेती शुरु गर्नुभएको हो । उहाँ सहित स्थानीयवासी मिलेर झण्डै ५० हजार हेक्टर क्षेत्रफलमा खेती थालिएको छ ।
यसका लागि छवटा समूह बनेको छ । प्रतिसमूहले न्यूनतम पाँच हजार वर्गमिटरदेखि दश हजार वर्गमिटरसम्म जग्गामा खेती गरेको छन्। “लकडाउनमा एक गाउँदेखि अर्को गाउँ आउजाउ गर्न पूरै रोकियो । फुर्सदिला गाउँले मिलेर समूह बनाएर बाँझो जग्गाको उपयोग गर्न सामूहिक फापर खेती थालियो”, उहाँले भन्नुभयो, “हामीले बाँझो जग्गा उपयोग ग¥यौँ । पोषणयुक्त रैथाने बालीको संरक्षण गर्ने काम पनि भयो ।”
प्रतिसमूहमा पन्ध्र सदस्यीय रहेको छ भने खेतीका लागि छनौट गरिएको बाँझो जग्गा निकै उर्वर छ ।स्थानीयवासीले यसअघि पनि फापर खेती गरी लाभ लिएका थिए । पछिल्लो समय आयातीत खाद्यान्नले स्थानीय बाली सङ्कटमा परिरहेको बेला लकडाउनले त्यसलाई सङ्कट हुन नदिने र बालीनाली संरक्षण गर्ने अवसर मिलेको स्थानीयवासी हरि रोकायाले बताउनुभयो ।
“बन्दाबन्दीले कृषि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने चेतना दियो । अहिले सबै गाउँलेमा स्थानीय बाली संरक्षण गर्ने भावना पलाएको छ”, उहाँले भन्नुभयो । अघिल्लो वर्ष केहीले फापर लगाए पनि अधिकांश बाँझो जग्गामा गत वर्षहरुमा झारपात उम्रन्थ्यो । यस वर्ष फापर उम्रेर हरियो भइसकेको र फापर तीन दिनमै उम्रने र चाँडो हुर्कने बालीमा पर्छ । फापरको उम्राइबारे जिल्लामा प्रचलित एउटा किस्सा छ “ किसानले बारीमा फाफर छरेर जोत्दाजोत्दै उम्रिन थाल्छ । त्यति चाँडै फापर उम्रिएको देखेको किसान रिसाएर फापरलाई गोरु चुट्ने लौरोले तीन चोटसम्म हान्छ । त्यसपछि फापर तीन दिनमा उम्रने भयो ।” यसले फापर चाँडै उम्रिन्छ भन्ने देखाउँछ । खेती गर्न पनि सहज हुन्छ भने बजारको माग राम्रो भएको र बजार भाउ पनि उच्च भएकाले किसानका लागि यो एकदम लाभदायिक छ । गाउँको नागी, तिलचौर, कोटघरा लगायतका बाँझो जग्गामा फापर खेती गरिएको हो । लामो समयदेखि साझा रहेको जग्गा बाँझो थियो ।
गाउँलेमा बाँझो जग्गाको भरपुर उपयोग गर्ने सामूहिक भावना पलाएको छ । घोडेगाउँ फापर उत्पादनका लागि उर्वर भूमि हो । गत वर्ष मात्रै उक्त ४० क्विन्टल फापर बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ । गाउँका ८० घरधुरीले सामूहिक फापर खेतीमा संलग्न छन् ।
जेठमा लगाइएको फापर आगामी असोजमा भित्र्याइन्छ । यतिबेला खेती किसानी गर्नेको सङ्ख्या बढेको छ । गाउँबाट नाग्म बजार नजीकै भएको हुनाले निर्यात गर्न सहज हुनेछ । खाद्यान्न सङ्कट हुने अवस्था भोगिसकेका स्थानीयवासीले रैथाने बालीको उत्पादन र संरक्षण गर्दा भोको नपरिने सोचेका छन् । जिल्लाका अधिकांश बाँझो जग्गा उपयोग भइरहेको छ । सो कार्यालयका प्रमुख बालकराम देवकोटा गत वर्षभन्दा बाँझो जग्गा उपयोग गर्ने क्रम बढिरहेको जानकारी दिनुभयो । “किसानहरु बाँझो जग्गाको उपयोग गर्ने कामको सुरुआत भएको छ”, उहाँले भन्नुभयो, “यहाँको कृषि क्षेत्रको उन्नतिका लागि हामी किसानहरुका साथमा छौँ ।” दुई सय १० हेक्टर जग्गा बाँझो छ । बाँझो जग्गामा किसानले फापर, सिमी र तोरी खेती गरिरहेको कार्यालयले जनाएको छ ।(रासस)