संक्रमित बढेपछि जुम्लामा ३ दिनलाई निषेधाज्ञा जारी
जुम्ला । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिभर कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिए ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ । जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी लगायतका पसलहरु खुल्दै आएका छन् ।