सुर्खेतमा जनता माविकाे क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु
काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।
पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए । मेयर थापाका अनुसार जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो ।
तर पन्चपुरी–१ का ती १९ वर्षीय युवकको भने रिपोर्ट नेगेटिभ आएकाे थियाे । उनी बसेको कोठामा रहेका अरु पाँच जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएकाे थियाे । त्यसपछि बुधबार अपराह्न करिब ३ बजेतिर उनलाई घर पठाइयोएकाे हाे । उनको बिहीबार बिहानपख करिब दुई बजेतिर मृत्यु भएको जानकारी आएको मेयर थापाले बताए । उनले प्रेसर सम्बन्धी औषधि खाने गरेको पाइएको पनि मेयर थापाले बताए ।