कहिलेसम्म जारी रहन्छ वर्षा ? सतर्क रहन मौसम विभागको आह्वान
पोखरा । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ ।
अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ । मौसमविद मिन कुमार अर्यालले आज काठमाडौं उपत्यकाको आकास नखुल्ने बताए ।
अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको थियो । त्यसको अप्रत्यक्ष असर नेपालमा परेको छ। त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ ।
अहिले पनि मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ । यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।
प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।