भारतबाट आएका वृद्धको बाजुराको क्वारेन्टाइनमा मृत्यु
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनी दमको रोगी भएको बताइएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।