News

मनिषा कोइराला क्वारेन्टाइनमा, कोरोना परीक्षण यस्तो आयो

मनिषा कोइराला क्वारेन्टाइनमा, कोरोना परीक्षण यस्तो आयो

काठमाडौं । नायिका मनिषा कोइरालाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आमाबाबुसँग नेपाल आएकी कोइराला र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।

नेपाल आएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन् ।अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टिनमा बसेकी छिन । नेपाली सेनाले स्कर्टिङ गरेर उनलाई राजधानी ल्याएको थियो । मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् ।

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टिनमा बसेकी थिइन् । यस अघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, 'हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।' उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, 'नेपालमा जन्मेकी अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।

'लिम्पियाधुरासहित तीन सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्ष लिएको भन्दै भारतीय मिडियाले अभिनेत्री कोइरालाको आलोचना गरेका थिए । भारतीय मिडियाले उनलाई चीनको पक्ष लिएको भनेर समेत लेखेका थिए । उनीहरूले अभिनेत्री कोइरालालाई 'भारतको खाएर चीनको गाएको' भन्ने आरोप लगाएका थिए । बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए ।

विशेष