News

इँटाभट्टामा जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमका सहयोगी पक्राउ

इँटाभट्टामा जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमका सहयोगी पक्राउ

रौतहट । रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार एक आरोपी पक्राउ परेका छन्‍। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय मुक्ति साह छन् । शनिबार राति भारतबाट पक्राउ गरी ल्याइएका उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेस गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बताए ।

घटनाको १३ वर्षपछि उनी पक्राउ परेका हुन् । आरोप लागेका अन्य ९ जना फरार छन् । पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् ।

त्यतिबेला इँटाभट्टामा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका ८ बाट राति पक्राउ गरेर ल्याएको हो । सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने ठ्याक्कै खुल्न सकेको छैन ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साबिक राजपुर गाविस-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । सो घटनामा यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा-४ ) का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तर घाइते भएका थिए । उनीहरुलाई इँटाभट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आलमलगायत ११ जनामाथि आरोप छ । राजनीतिक आवरणमा लुकाइएको यो घटनाको १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए ।

विशेष