जसपा निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराईको नाम टिपेक्सले मेटेर अध्यक्षबाट हटायो

जसपा निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराईको नाम टिपेक्सले मेटेर अध्यक्षबाट हटायो

काठमाडाैं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार वरियता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ। पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। शनिबार र आइतबार दुई दिनसम्म चलेको छलफलपछि पार्टी दर्ता भएको हो।

कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।

गत बैशाख १० मा राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो । त्यसको भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र शरतसिंह भण्डारी निर्वाचन आयोग पुगेर एकताबारे लिखित जानकारी दिएका थिए ।

आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्र दर्ता गराउनुपर्ने प्रावधान छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ । त्यसैअनुसार आइतबार अन्तिम दिन आयोग पुगेर जसपाका नेताहरुले दल दर्तासम्बन्धी कागजात बुझाएका थिए ।

यसअघि आइतबार नै जसपाका शीर्ष नेताहरुको कार्यविभाजन भएको थियो । जसअनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो रहने भनिएकाे थियाे । तर, आयोगमा बुझाएको कागजमा भने भट्टराई र महतोलाई बरिष्ठ नेताका रुपमा राखिएको हाे ।

संम्बधित खबर

विशेष