रुकुम पश्चिम घटनाको अनुसन्धान गर्न देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय विशेष समिति गठन

रुकुम पश्चिम घटनाको अनुसन्धान गर्न देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय विशेष समिति गठन

काठमाडाैं । रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

चौरजहारी घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो । जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि केटी पक्षका मान्छेहरूले हमला गरेका थिए ।

जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम गएका थिए । रुकुम पश्चिम चौरहजारी नगरपालिका सोतीकी केटीको घर जाँदा केटीका परिवारले 'तल्लो जात'को भन्दै गाली गरेपछि फर्केका युवामाथि गाउँलेले झन्डै तीन किलोमिटर पर आएर हमला गरेका थिए । ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् ।

यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् । उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलगायतलाई प्रहरीले पक्राउ गरेर छानबिन अगाडि बढाएको छ । घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

संम्बधित खबर

विशेष