अर्घाखाँचीमा ३१ र कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
अर्घाखाँची । सोमबार दिउसोसम्म अर्घाखाँचीमा ३१ र कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए । प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।
खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उनलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए ।
यस्तै कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमतिहरु दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका एकजना छन् । आज १६ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।
यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका १८ जना र बाँकेका एकजना रहेका छन् ।