'सगरमाथा हाम्रो हो, रुइ गाउँ फिर्ता गर' भन्दै काठमाडौँमा चीनविरुद्ध प्रदर्शन, परराष्ट्रमन्त्रीको पुत्लासमेत जलाइयो ! (भिडियोसहित)
काठमाडौँ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । राष्ट्रिय जागरण अभियानको आयोजनामा काठमाडौँको सिनामंगलमा चीनले नेपालको गाउँ कब्जा गरेविरुद्ध आन्दोलन भएको हो ।
'चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नारा लगाउँदै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि परराष्ट्रमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विरसमेत जलाएका थिए ।
झन्डै २००को संख्यामा उपस्थित प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दाबी गर्ने चीनविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए । उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तस्विर जलाउँदा प्रहरीले हस्तक्षेप गरेको उक्त प्रदर्शन झन्डै पौने घण्टा चलेको थियो ।