रोपाइँमा मल अभाव
अरुणकुमार यादव
राजविराज । सप्तरी जिल्लामा असारको दोस्रो सातासम्म करीब २१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । सिँचाइको उचित सुविधा नपुगेको सप्तरीमा यस वर्ष असारको दोस्रो सातामा वर्षाले साथ दिएपछि यहाँका अधिकांश किसान खेतमा धान रोप्न व्यस्त देखिएका छन् ।
सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर खेतीयोग्य जमीन छ । अहिलेसम्म सप्तरीमा १५ हजार एक सय हेक्टर जमीनमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रको भनाइ छ । रोपाइँका लागि बेर्ना तयार पारिएको र वर्षा पनि समयमा नै हुँदा जिल्लाका किसान उत्साहित भएको हनुमानगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका किसानलाल माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सधैँ आकाशेपानीको भरमा खेतीपाती गर्दैै आएको बेला यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादनमा समेत वृद्धि हुने विश्वास छ ।” सप्तकोशी ब्यारेजबाट पश्चिमतिर बग्ने नहरमा पानी आए पनि हामीहरुको खेत र जमीनभन्दा माथिल्लो सतहबाट नहरमा पानी बगेकाले सो पानी खेतीको समयमा काम नलाग्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
जिल्लाको अधिकांश नगरपालिका र गाउँपालिकामा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नभएका कारण जमीन बाँझो रहने गरेको थियो । जिल्लामा सञ्चालित तीनवटै नहरमा पानीको अभाव र समयमा वर्षा नहुँदा पनि अधिकांश ठाउँमा धान रोपाइँ प्रभावित हुने गरेको थियो । कोशी पश्चिमी, कोशी पम्प तथा चन्द्र नहरमा पर्याप्त पानी नभएको र ती नहरमा पानी नछोडेका कारणसमेत केही स्थानमा रोपाइँ गर्न समस्या भइरहेको कृषकले गुनासो गरेका छन् । जिल्लामा रहेका तीनवटै सिँचाइ प्रणालीबाट पानीको व्यवस्था नभएपछि पम्पसेटका भरमा समेत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
सप्तरीमा अहिलेसम्म २१ प्रतिशत खान खेतमा रोपाइँ भएको बताउँदै जिल्लामा १५ हजार एक सय हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादवले जानकारी दिनुभयो । लगातार चार÷पाँच दिनदेखि पानी परेपछि जिल्लाको वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनीयाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका गाउँमा अहिले धान रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको पूर्वी–दक्षिण क्षेत्रका केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका केही खेतीयोग्य जमीनहरु अझै बाँझै रहेको पाइएको छ । सप्तरीको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, महदेवा, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा धान खेती लगाउने गरेकोमा प्रत्येक वर्ष समयमा पानी नपाएको कारण कृषकले महंगोमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउने गरेको कृषकहरुको गुनासो छ । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार दुई सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ ।
यस्तै मौसमले साथ दिए पनि मलको भने सप्तरीमा अभाव रहेको किसानको गुनासो छ । खेतमा धान रोपेलगत्तै डिएपी मल आवश्यक पर्ने भएकाले त्यसको समेत अभाव भएको पाइएको छ । जिल्लाको विष्णुपुर गाउँपालिकाका स्थानीय किसान प्रोसेतम यादवका अनुसार धान रोप्न खेत तयार भएको बेला खेतमा हाल्ने डिएपी मलको अभाव भएको गुनासो गर्नुभयो ।
यता राजविराजस्थित साल्ट्र ट्रेडिङ र कृषि सामग्री कम्पनीका प्रमुख रामकुमार चौधरीले सप्तरीमा नौ हजार मेट्रिक टन मल बिक्री वितरण गर्ने योजना रहेको तर अहिलेसम्म आठ हजार मेट्रिक टन आउँदा केही स्थानमा रासायनिक मलको अभाव भएको हुन सक्ने बताउनुभयो । कोरोना र लकडाउनलेसमेत किसानको मागअनुसार मल पूरा गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले विभिन्न भागमा रासायनिक मल पु¥याउन समस्या भएको र नगएका ठाउँमा थप मल पठाउने काम भइरहेको छ ।” जिल्लामा सरकारी भाउअनुसार रासायनिक मल बिक्री वितरण भइरहेको बताउँदै जिल्लाको केही भागमा मलमा पनि काला बजारी गर्नेमाथि कार्वाही गरिने कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । (रासस)