बाल विवाहमा संलग्न चार पक्राउ
वालिङ। बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका १ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका १ का तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका ३ बस्ने केशवराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात् बेहुला तिवारीसहित बुबा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका चार जनालाई विवाहसम्बन्धी कसुरअन्तर्गत बाल विवाह मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।(रासस)