कोभिड – १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गर्न थालेको हो ।
महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड १९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड १९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि सेरो सर्वेक्षण गर्न थालिएको बताउनुभयो । यसअघि महाशाखाले काठमाडौँ उपत्यकामा कोभिड १९ को सङ्क्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पिसिआर परीक्षण गरेको थियो । सेरो सर्वेक्षण रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ ।
पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने सेरो सर्वेक्षणले पहिले मानिसमा देखिएका कोभिड १९ को भाइरस पनि थाहा पाइने हुन्छ । सेरो सर्वेक्षणले कोभिड १९ को सङ्क्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । तत्काल समुदायमा कोभिड १९ को सङ्क्रमण कस्तो रहेको छ भनेर पिसिआर परीक्षण गरिन्छ , उहाँले भन्नुभयो, महामारीका रुपमा फैलिएको कोभिड १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो । सेरो प्रिभिलेन्स सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड १९ का ९७ प्रतिशत सङ्क्रमित विनालक्षणका देखिएका छन् ।
सेरो सर्वेक्षणका लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताउनुभयो । कोभिड १९ को सङ्क्रमणबाट कति मानिस आफैँ नै सञ्चो भएका छन् । उनीहरुको सङ्क्रमण भए नभएको हामीलाई थाहा छैन, उहाँले भन्नुभयो, त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।कोभिड १९ को भाइरसको सङक्रमणको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड १९ को सङ्क्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट सङ्क्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्दछ , उहाँले भन्नुभयो, त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो । उहाँका अनुसार चाँडै नै सङ्क्रमण प्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ । नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।(रासस)