News

पिसिआर मेशिन जडान शुरु

पिसिआर मेशिन जडान शुरु

झापा । झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड १९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ । कोभिड १९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको एकका लागि एक अभियानबाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद गरिएको हो । अभियानका सहसंयोजक विनोद बस्नेतले कनकाई नगरपालिका ४ कोटीहोमस्थित समर्पण भवनमा प्रयोगशालाका सबै उपकरण आज आइपुगेको जानकारी दिनुभयो ।

मुलुकमै समुदायबाट चन्दा सङ्कलन गरेर स्थापना गर्न लागिएको यो पहिलो पिसिआर ल्याब हो । यसका लागि रु एक करोड २० लाख जति चन्दा सङ्कलन भइसकेको अभियानले जनाएको छ । यसमा अन्तरराष्ट्रिय झापाली समाज एक्लैले रु २५ लाख योगदान गरेको छ । सम्पूर्ण उपकरण आइपुगेको छ, एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले भन्नुभयो, आशा छ, अबको पाँच दिनभित्रै उपकरण जडान सकिएर नमूना परीक्षणको काम शुरु हुनेछ ।

अभियानले पिसिआर ल्याबको उपकरण किन्ने, प्रयोगशाला राख्ने स्थानको व्यवस्था गर्ने र जडान सम्पन्न गर्ने संयोजक गिरीले बताउनुभयो । प्रयोगशालाको सञ्चालनका लागि अभियानले प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ । प्रदेश नं १ मै झापामा कोभिड १९ का सङ्क्रमित ज्यादा भए तापनि सङ्क्रमित हो कि होइन भनेर स्वाब परीक्षण गराउन विराटनगर र धरान पुग्नुपर्ने बाध्यता हटाउन झापामै जनस्तरबाट प्रयोगशाला स्थापनाको पहल सार्थक मोडमा आइपुगेको हो ।

अभियानका सदस्य सजेश शिवाकोटीले कोटेशन प्रक्रियाबाट काठमाडौँको जयश्री श्याम कम्पनीबाट पिसिआर ल्याबका उपकरण आयात खरीद गरिएको बताउनुभयो । उपकरणमा रु ८५ लाख खर्च भएको र ल्याबरुमका लागि आवश्यक अन्य उपकरणमा अरु रकम लाग्ने जनाइएको छ ।पिसिआर ल्याबको मुख्य यन्त्र अमेरिका र अन्य उपकरण भारतमा बनेको उहाँले बताउनुभयो । उपकरण जडानका लागि काठमाडौँबाटै इञ्जिनीयर आएका छन् । कोरोना महामारीसँग लड्न निजी क्षेत्रले पिसिआर ल्याब स्थापना नै गरेकामा झापा जिल्लावासी हर्षित भएका छन् । सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले जनस्तरबाट जुटेको सहयोगबाट बनेको ल्याबबाट झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने बताउनुभयो ।(रासस)

विशेष