कोरोनाको पारदर्शीतामा सी जिङपिङको खोक्रो प्रतिबद्धता : माइक पोम्पेओ
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार चिनियाँहरुले आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै आलोचना गरेका छन् । चीन-अफ्रिका सम्मेलनमा चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको विषयलाई पारदर्शी ढंगले बताउने प्रतिबद्धता गरे पनि आफ्नो परिबद्धतामा असफल भएको विदेशमन्त्री पोम्पेओले बताएका छन् । उनले चीनबाट सुरु भएको कोरोना भाइरसबाट विश्वमा चार लाख मानिसहरुको मृत्यु भइसकेको उल्लेख गर्दै राष्ट्रपति सी जिनपिङ आफ्नै प्रतिबद्धतामा असफल भएकोभन्दै आलोचना गरेका हुन् ।
उनले राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले मानिसको जीवनलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै कोरोनासम्बन्धीको वास्तविकतालाई चीनले लुकाएको आरोपसमेत लगाएका छन् । उनले भने, "गत साताको चीन-अफ्रिका सम्मेलनमा हामीले खोक्रो प्रतिबद्धताहरु मात्रै सुन्यौं । राष्ट्रपति सीले सधैं आफूले मानिसको जीवनलाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताएका थिए । तर, उनी वास्तविक पारदर्शीता र जीम्मेवारी लिन चुकेका छन् ।" उनले मानिसको जीवन प्राथमिकतामा राख्ने बताए पनि विश्वमा लाखौं मानिसहरुको मृत्यु भइसक्दा पनि घातक कोरोना भाइरसको वास्तविकताका बारेमा नखलाएको राष्ट्रपति सीप्रति आक्रोश व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएको जिम्मा चीनले लिनुपर्ने बताउँदै आएका छन् । विदेशमन्त्री पोम्पेओले पनि यसलाई 'चिनियाँ भाइरस' को संज्ञा दिएका छन् । पोम्पेओले अमेरिका कोरोनाको चुनौती सामना गर्नका लागि अफ्रिकासँगै उभिने र जनस्वास्थ्यका क्षेत्रमा एक सय बिलियन अमेरिकी डलर सहयोग गरेकोसमेत बताएका छन् ।