देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण
काडमाडौँ। आन्तरिक राजश्व कार्यालय लहान सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि गुर्जो को बिरुवा निःशुल्क वितरण गर्दै आउनुभएको छ । गुर्जो गुरगुज गिलोय गुडुची अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो । अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ ।
गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।
गुर्जोको गुणहरु त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी ब्याक्टेरियल, एन्टी भाइरल, एन्टी लर्जिक, एन्टी अक्सिडेन्टल, एन्टी इन्फ्लामेटरी कुलिङ, एन्टी ट्युमर र एन्टी एसिडलगायतका धेरै रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ । त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ ।(रासस)