गिलगिट बलिचस्तानको पर्यटन उद्योग गम्भीर संकटमा
नोभेल कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानको गिलगिट बलिचस्तानको पर्यटन क्षेत्र गम्भीर संकटमा परेको छ । उक्त क्षेत्रमा पर्यटनसँग जोडिएका हजारौं मानिसहरु बेरोजगार भएका छन् । उनीहरुलाई दैनिकी चलाउनसमेत समस्या भएको जनाइएको छ । त्यहाँका होटल र टुर अपरेटरहरुले हुन्जा क्षेत्रमा आन्दोलन सुरु गर्दै राजमार्ग बन्द गराएका छन् ।
सरकारले राहत दिनुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्री इमरान खानविरुद्ध उक्त अभियान चलाएका हुन् । हुन्जा होटल एसोसियसनका अलि मदादले भने,जब विश्वभर कोरोना भाइरसको माहमारी फैलिन सुरु भयो र यो गिलगिट बलिचस्तानमा पनि पुग्यो । त्यस समय हामीलाई प्रशासनले सबै होटहरु बन्द गर्न आग्रह गर्यो । हामी राजी भयौं र बन्द गर्यौं । समाजलाई कोरोना भाइरसबाट बचाउन हामी सबै मिलेर लाग्नुप्छ भनेर हामी सरकारसँग सहमत भयौं ।
उनले थपे, गिलगिट बलिचस्तानमा अक्टोबरदेखि नै होटलहरु बन्द भएका छन् । पहिलो चिसो मौसमका कारण बन्द भए भने पछि कोरोनाका कारण । होटल सञ्चालकहरुले ठूवलो जोखिम उठाएर होटल बनाएका हुन्छन् र रोजगारी सिर्जना गरेका हुन्छन् । एक होटलले कम्तीमा १० परिवारलाई पालेको हुन्छ भने रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उनले प्रधानमन्त्री इमरान खानलाई होटल व्यवसाय खुला गर्न र राहतको व्यवस्था गर्न माग गरेका छन् । गिलगिट बलिचस्तान एक अनुपम प्राकृतिक सुन्दरता भरिएको क्षेत्र हो । यहाँ वर्षेनि हजारौं मानिसहरु जाने गरेका छन् ।