कोरोनाको जोखिम, स्वयंमा निर्भर बन्दै
जनक श्रेष्ठ
लमजुङ । सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो ।
लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्नुुहुन्छ, लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त छौँ भन्ने होइन ,उहाँले भन्नुभयो, यसलाई हल्कारूपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ । आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्नेमा बँेसीशहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताउनुभयो ।
कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै केही दिनअघि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेता पनि कोरोनाको जोखिम भने अन्त्य भइसकेको छैन । लामो समयसम्म लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला शहर बजार जताततै भीडभाड बढी देखिएको छ । शहरबजारमा खुलेका विभिन्न पसलमा भीडभाड हुने क्रम बढ्दै गए पनि सामाजिक दूरी कायमसमेत भएको पाइँदैन ।
कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझाइसमेत राख्दै आएका छन् । उनीहरुले कोरोनाको महामारी आउनुभन्दा अघिका समयझै यतिबेला पनि उस्तै सोचाइका साथ कोरोनाका महामारीको ध्यानमा नराख्दा जोखिम बढ्दै गएको छ । यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत नहँुदा थप कोरोना जोखिम बढ्नसक्ने जिल्लावासीको भनाइ छ ।
कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, नियमित व्यायामलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भन्नुभयो, यतिबेला लकडाउन पो हटेको हो त जोखिम कहाँ हटेको छ र ! तर पनि जिल्लावासी मास्कसमेत नलगाइ हिँडेको पाइन्छ ।
जिल्लामा कोरोना सङ्क्रमित बढिरहेको छ जोखिम पनि उत्तिकै रहेको छ । नेपाल सरकारले र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि नागरिकले भने लागू नगर्दा जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
रोकिएन महिला तथा बालबालिका हराउने क्रम
पहाडी जिल्ला लमजुङमा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा कमी आउन सकेको छैन । प्रेममा धोका खाएर, गलत साथीको सङ्गत, सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घर झगडा, अन्तरजातीय प्रेमलगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ ।
गत चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि असार मसान्तको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यीमध्ये ६४ महिला, तीन बालक, १६ बालिका र तीन ज्येष्ठ नागरिक छन् । हराएकामध्ये ४२ महिला, तीन बालक, १४ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक भेटिएको छैनन् । हराएका महिला तथा बालबालिकाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा १०५ महिला तथा बालबालिका हराएका छन् । जसमा ७३ महिला, सात बालक, २५ बालिका रहेका छन् । सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै आव २०७३/७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । जसमा २३ महिला, १२ बालक र १८ बालिका छन् । सोमध्ये २३ महिला, १२ नै बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ । विभिन्न सचेतनामूलक कार्यक्रम जिल्लामा हुँदै आए पनि महिला तथा बालबालिका हराउने सङ्ख्यामा कमी आउन सकेको छैन । जिल्लामा मानव बेचबिखनको घटना भने न्यून रहेको पाइन्छ । तीन आर्थिक वर्षको अवधिमा दुई मात्र बेचबिखनका मुद्दा रहेको प्रहरीको भनाइ छ । रासस