सेवादिन बार निर्धारण
काठमाडौ। कोभिड १९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने भएको छ । यही साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको कार्यालयले एक सूचना जारी गरी जनाएको हो । सूचनाका अनुसार आइतबार र बिहीबार काठमाडौँ महानगरपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै सोमबार कीर्तिपुर, नागार्जुन ,चन्द्रागिरि तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन् ।यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् ।
यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ । शान्ति सुरक्षा निवेदन, मुद्दासम्बन्धीका कार्य, सरकारी समन्वय र छलफल भने हरेक दिन हुने जनाइएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको जिल्ला सङ्कलन व्यवस्थापनको निर्णयअनुसार कोभिड १९ को सङ्क्रमण रोक्न उक्त नियम लागू गरिएको जनाइएको छ । गृह मन्त्रालयले कोभिड १९ को जोखिम बढेको भन्दै बिहीबारदेखि रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ ।(रासस)