राजश्वको सोही पत्रलाई देखाउँदै रिटायर्ड भएका कर्मचारीलाई तत्काल लाखौं रुपैयाँ बुझाउन राष्ट्र बैंकको आदेश
काठमाडौँ। आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई गल्ती कमजोरी औंल्याउँदै विभिन्न निर्देशन दिने राष्ट्र बैंक स्वयंले सेवानिवृत्त आफ्ना कर्मचारीको गलत हिसाबले करकट्टी गरेको पाइएको छ । जेठ मसान्तका दिन बैंकका झण्डै चार दर्जन सेवानिवृत कर्मचारीलाई पठाइएको पत्रमा अवकाशको बखत गरिएको हिसाब नमिलेकाले बढी भुक्तानी हुन गएको रकम फर्काउन अनुरोध गरिएको हो ।
स्रोतका अनुसार २०५८ फागुनदेखि सरकारले आयकरको व्यवस्था लागू गरेको हो । त्यसअघि कर्मचारीको कुनैपनि आम्दानीमा कर लाग्दैनथ्यो । त्यसलै त्यसपछि अवकाश हुने कर्मचारीको हकमा आयकर लागू हुनु अघिसम्मको आम्दानीमा स्वतः कर छुट दिनुपर्ने हुन्छ । तर,बैंकले सोलोडोलो करकट्टी गर्दै आयो ।
डेढ वर्षअघि त्यसरी करकट्टी गर्नु कानुनविपरित हुने भन्दै बैंकले आयकर लागूअघिको आम्दानीमा कर छुट दिएर अवकाशप्राप्त कर्मचारीको अन्तिम हिसाब गर्न थाल्यो । त्यसरी गलत करकट्टीलाई सच्याएर हिसाब गरेपछि ४५ जना भन्दाबढी अवकाशप्राप्त कर्मचारीले नियमानुसारको छुट पाएका थिए ।
उक्त व्यवस्थापछि बढी कर कट्टी गरिएका अन्य अवकाशप्राप्त कर्मचारीमध्ये झण्डै पाँच सय जनाले पनि सोहीबमोजिम गर्न बैंकमा निवेदन दिए । बैंकबाट प्राप्त त्यस्ता मुनासिब निवेदनलाई आन्तरिक राजश्व कार्यालय,टंगालले प्रक्रिया पूरा गरेर बढी करट्टी गरी जम्मा भएको रकम फिर्ताको लागि अर्थ मन्त्रालय पठायो ।
तर,मुलुकको आम्दानी घट्दै गएको,विगतमा आफ्नो समेत बढी करकट्टी गरिएको र अहिले अरुले बढी करकट्टी गरिएको रकम फिर्ता पाएपनि आफूले नपाउने अर्थमन्त्री युवराज खतिवडाले बताएका थिए । गभर्नर बन्नुअघि बैंकको विशिष्ट श्रेणीको कर्मचारीबाट अवकाश भएका खतिवडाले आफ्नो पनि त्यसैगरी करकट्टी गरिएको मन्त्रालयमा बताउँदै ‘सरकारको खातामा जम्मा भएको रकम फिर्ता नहुने र आयकर लागू अघिको आम्दानीमा पनि एकमुष्ट कर कट्टी गर्ने’ अचम्मको निर्णय गरिदिए ।
मन्त्रालयको सोही निर्णयलाई टेकेर आन्तरिक राजश्व कार्यालय, टंगालले बैंकलाई गत मंसीर २३ गते नियमानुसार करकट्टी गर्दा सम्बन्धित कर्मचारीबाट आउनुपर्ने रकम कम हुन गएकाले उक्त अपुग रकम फिर्ताको लागि पत्र पठाएको थियो ।
बैंकले राजश्वको सोही पत्रलाई देखाउँदै रिटायर्ड भएर आफ्नो थातथलो फर्केका कर्मचारीलाई तत्काल लाखौं रुपैयाँ बुझाउन जेठ मसान्तमा आदेश दिएको छ । तर, यस्तै प्रकृतिको विषयमा कृषि विकास बैंकका कर्मचारीलाई सर्वोच्च अदालतले आयकर लागू हुनुपूर्वको रकममा नियमानुसार कर छुटको लागि केहि समयअघि आदेश दिएको बताइएको छ । यो सामाग्री जन आस्थाबाट साभर गरीएको हो।