अतिक्रमण बढेपछि नेपाल-चीन सिमामा गाडीयो नेपाली झन्डा
त्रिदेशीय सीमा सवाल उठिरहेका बेला गोरखाको छेकम्पारस्थित दुईवटा नाकामा नेपाली झण्डा गाडिएको छ ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष र दुईजना वडा सदस्यले थाप्ला र ङुइलाढाजेन नाकामा झण्डा गाडेर फर्किएको वडा अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडाका जनप्रतिनिधिहरु सीमानामा पुगेर झण्डा गाडेको उनले बताए । 'विगतदेखि नै सीमानामा चीनको झण्डा मात्र थियो । अनि मैले जिल्लाका सिडियोसाबसँग सल्लाह गरेर झण्डा गाडेको हुँ, उनले भने, 'सीमानामा चीनको मात्र झण्डा देख्दा र हाम्रो झण्डा नदेख्दा खल्लो लाग्थ्यो । अब दुवै देशको झण्डा देख्न पाइने भयो । आत्मसन्तुष्टिको महशुस भएको छ ।'
सीमानामा झण्डा गाडेको यहाँको इतिहासमा यो नै पहिलो पटक भएको उनले बताए ।झण्डा फहराउनका लागि वडाअध्यक्ष पासाङफुञ्जो लामा र वडा सदस्यहरु कर्साङफुञ्जो र पेम्बा लामा गएका थिए ।
थाप्ला नाका ५,१०४ मिटर उचाइमा रहेको छ भने ङुइलाढाजेन ५,०९३ मिटर उचाइमा रहेको स्थानीय पर्यटन व्यवसायी धावा ग्याल्जेन लामाले जानकारी दिए । ङुइलाढाजेन नाकामा पिलर नंबर ३८ रहेको छ भने थाप्लामा नाकामा पिलर नंबर ३९ रहेको उनले बताए ।
ङुइलाढाजेनबाट छेकम्पारका बासिन्दा र तिब्बतको केरुङका बासिन्दा आवतजावत गर्छन् भने थाप्ला नाकाबाट आवतजावत नहुने पनि लामाले बताए । यो खबर अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।