पाकिस्तानी मुस्लिम लिगद्वारा हिन्दु मन्दिर निर्माणमा रोक
लाहोर । पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको छ । इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको छ ।
पञ्जाबमा सभामुख चौधरी पेरभाइज इलाहीले बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ, "पाकिस्तान इस्लामको नाममा सिर्जना भएको हो । राजधानीमा नयाँ हिन्दु मन्दिर बनाउनु इस्लामको विपरीत मात्र नभएर रियासत-ई-मदिनाकोसमेत अपमान हो ।"
उनले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । प्रधानमन्त्री इमरान खानले गत साता राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउनका लागि १० करोड रकम विनियोजन गरेका थिए ।
इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको छ ।