पहिरा विस्थापितको माग ः राहत र पुनस्र्थापना
सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका २ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् ।गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । आइतबार अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधसहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन् ।
पहिरापछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरा गएपछि र घरहरुको बीचबीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् । आइतबार भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे । छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहो याउनुभयो ।
स्थानीय विस्थापितहरुसँग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधसहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ, नेता जेपी सिलवाललगायत सहभागी हुनुभएको थियो । छलफलका सहभागीले दुःखका बेला सम्झेकामा नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना मागबारे गम्भीर भइदिन विशेष आग्रह गरेका थिए ।
चीनको नेलम काउन्टीबाट स्वास्थ्य सामग्री सहयोग >
कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गर्ने भएको हो । तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार ८०० पिपिई सेटसहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको छ । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार, आइसोलेसन माक्स दुई हजार थान र एन नाइन्टीफाइभ मास्क दिने भएको छ । साथै मेडिकल मास्क पनि पाँच हजार थान दिने भएको छ ।
चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार र पिसिआर रिएजेन्ट दुई हजार थान सहयोग गर्ने भएको छ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गर्ने यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोगमध्येकै ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।
प्रजिअ ढकालका अनुसार बुधबार मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र त्यसलाई निर्मलीकरण गर्नसमेत एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा आवश्यक परेको ठाउँमा उपलब्ध गराउने छ । (रासस)