सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै
राजकुमार पराजुली
काभ्रेपलाञ्चोक। केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् ।
गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । यसमध्ये ३२ उपचारपछि घर फर्किएका छन् भने एक महिलाको मृत्यु भएको छ । हाल ४३ आइसोलेशनमा उपचाररत छन् । केही दिनदेखि कोरोना भाइरस समुदायमासमेत फैलिन थालेपछि उच्च सतर्कता अपनाउन सरोकारवाला निकाय गम्भीर बनेको पाइएको छ ।
विगत तीन दिनदेखि कारोना सङ्क्रमितसँग निरन्तर सम्पर्कमा रहेकाले आइतबारदेखि पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झासमेत एकान्तबासमा हुनुहुन्छ । केही दिनदेखि निरन्तर सङ्क्रमितसँग सम्पर्कमा रहेकाले म हाल सेल्फ क्वारेन्टिन मा छु, अब कार्यालयको काम मोबाइल र इन्टरनेटबाट नै गर्छु , उहाँले भन्नुभयो । उहाँका अनुसार केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमित बढिरहेकाले जिल्लाका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता भइसक्यो ।
काभ्रेका स्थानीय तहले पनि धमाधम आफ्नो क्षेत्रमा कोरोना सङ्क्रमित देखिदै÷बढ्दै गएपछि निश्चित क्षेत्र तथा मुख्य नाका सिल गरिरहेका छन् भने सूचनामार्फत स्वास्थ्यसुरक्षाका मापदण्ड अपनाउन सार्वजनिक अपिल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलले पनि सूचना जारी गर्दै कारोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मानिसको जमघट, भेला भिडभाडबाट उक्त रोगको सङ्क्रमण फैलनसक्ने भएपछि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका बजार क्षेत्रमा आत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमीनार, छलफल र भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेपछि स्थानीय तहले सतर्कता अपनाउन आम नागरिकका आग्रह गर्न थालेका हुन् ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिलमा सङ्क्रमण दर दिनानुदिन बढिरहेकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणको एकमात्रै उपाय स्वास्थ्यसुरक्षाको मापदण्ड अपनाउनु नै हो, यो जिल्लाका नागरिकले अपनाउनै पर्छ । उहाँका अनुसार जिल्लाका अन्य स्थानीय तहले सुरक्ष सतर्कता अपनाउन अपिल गरिरहेका छन् ।
त्यसो त, पछिल्लो समय तेस्रो मुलुकबाट आई क्वारेन्टिनमा बस्ने काभ्रेलीको बसाई अवधि सकिएपछि सङ्ख्या घटिरहेकाले रित्तिने अवस्थामा पुगेका छन् । तेह्र स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन श्यया व्यवस्थित गरेका छन् । पाँच बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको बनेपा नगरपालिकाले हाल थप ५० श्ययाको आइसोलेशन कक्ष व्यवस्थित गरिरहेको छ ।
पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा १०४ पुरुष र १६ महिला बसेका छन् । जसमध्ये बनेपा नपामा १६, धुलिखेलमा १९, पनौतीमा ११, पाँचखालमा छ, नमोबुद्धमा छ, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा २७, तेमालमा १४ र भुम्लुमा १२ जना क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौँरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिइसकेका छन् ।
छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९१५ पुरुष र १९१ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२० काभ्रेली घर फर्किएका हुन् । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।(रासस)