News

अवैध काठसहित दुई पक्राउ

अवैध काठसहित दुई पक्राउ

कैलाली। कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ । बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लवसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।                              

रु दुई लाख बढीका चोरीका सामान बरामद 
प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट बेवारिसे अवस्थामा चार बोरा सुपर पावर सुर्ती अन्दाजी रु ३५ हजार मूल्य बराबरको समान बरामद गरेको छ । धनगढीकै वडा नं ७ बाट से १ ह २२८७ नम्बरको विद्युतीय रिक्सामा चार बोरा बिडी, एक बोरा सुपर पावर सूर्ती र दुई बोरा प्लाष्टिकको झोला गरी अन्दाजी रु एक लाख ४५ हजार मूल्य बराबरका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । आवश्यक कानूनी कारवाहीका लागि विद्युतीय रिक्सासहित सरसामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको बताइएको छ । त्यस्तै टीकापुर नगरपालिका–७ खैरीघाटस्थित धानबारीमा चार क्विन्टल ५० किलोग्राम केराउ अन्दाजी मूल्य रु २२ हजार ५०० बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा पठाइएको जनाइएको छ  ।(रासस)  
 

विशेष