News

दिक्तेल रुपाकोट मझुवागढीमा ‘मेरो प्रतिज्ञाःमेरो प्रतिबद्धता’

दिक्तेल रुपाकोट मझुवागढीमा ‘मेरो प्रतिज्ञाःमेरो प्रतिबद्धता’

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता कार्यक्रम लागू गरेको छ । नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन यसै आर्थिक वर्षदेखि लागू हुने गरी सार्वजनिक महत्वको कार्यक्रम लागू गरिएको हो ।   

आर्थिक वर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रममै मेरो प्रतिज्ञाः मेरो प्रतिबद्धता कार्यक्रम समेटिएको नगर प्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । सोह्रबुँदे नागरिक दायित्व पूरा गर्न नगरवासीलाई सहमत गराएर कार्यक्रम अघि बढाउन निर्देशिका तयार गरिएको छ , उहाँले भन्नुभयो, नगरपालिकाप्रति नागरिकको अपनत्व कायम गर्दै नागरिकको अधिकार मात्रै होइन कर्तव्य पनि हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न सार्वजनिक महत्वको कार्यक्रम ल्याइएको हो । सो कार्यक्रममा म खाना खेर फाल्दिन, म कुनै पनि प्रकारको सामाजिक विभेद र हिंसामा संलग्न हुन्न, म मेरो जमीन बाँझो राख्दिन, म सार्वजनिक ठाउँमा धूमपान तथा मद्यपान गर्दिन, म सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने छु, म खोलामा करेन्ट र विषादीको प्रयोग गर्दिन, म रासायनिक मल प्रयोग गर्दिन, म अर्गानिक उत्पादनमा जोड दिन्छु, म सार्वजनिकस्थलमा बनेका घरटहरा भत्काउने छु, नक्शा पास नगरी मापदण्ड विपरीत घरटहरा बनाउने छैन लगायत बुँदा समावेश गरिएको छ ।

यस्तै म स्रोतबाटै फोहोरको वर्गीकरण गरी कुहिने फोहोरलाई कम्पोष्ट प्लान्टमा पठाउने छु, म अनिवार्य रुपमा साबुनपानीले हात धोएर वा सेनिटाइजर प्रयोग गरेर मात्र सार्वजनिक ठाउँमा प्रवेश गर्ने छु, म सामाजिक दूरी कायम गरेर मात्र दैनिक गतिविधि गर्ने छु, म खुद्रा, खाद्यान्न तथा तरकारी पसलमा अनिवार्य स्थानीय उत्पादनलाई समावेश गर्ने छु, म लागूपदार्थ तथा दुव्र्यसनीमा फस्ने छैन, म शिष्टाचारयुक्त व्यवहार गर्ने छु, नगरपालिकाले बनाएका ऐन, कानून र आचारसंहिताको पूर्णरुपमा परिपालना गर्ने छु, विकासनिर्माणका लागि लगाइएका कर इमान्दारीपूर्वक तिर्नेछु भन्ने बुँदाको पालना गर्नुपर्ने उक्त कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकालाई समृृद्ध, आत्मनिर्भर र सुसंस्कृत बनाउने लक्ष्यानुसार सो कार्यक्रम ल्याइएको नगर प्रमुख रिजालले जानकारी दिनुभयो । यसका लागि कुनै बजेट चाहिन्न, इच्छाशक्ति भए पुग्छ , उहाँले भन्नुभयो, नगरपालिकाले लागू गरेको १६ बँुदे कार्यक्रम कार्यान्वयनमा ल्याउन सकिए समृद्ध नगर बन्ने निश्चित छ ।

नगरपालिकाले ल्याएको महत्वाकाङ्क्षी कार्यक्रम कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको नगरवासीले बताएका छन् । नगरपालिकाले यसअघि पनि धेरै सार्वजनिक महत्वको कार्यक्रम ल्याएको तर कार्यान्वयन नभएको नगरवासीको ठम्याइ छ । यद्यपि जिल्लाका अन्य स्थानीय तहभन्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका हरेक हिसाबले अगाडि देखिएको छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र तथा प्रशासनिक कार्यालयसमेत सोही नगरपालिकामा रहेकाले पनि दिक्तेल नगरपालिका अगाडि देखिएको हो । पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकाको केन्द्र अर्थात् कार्यालय रहेको दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । दिक्तेल बजारको सडक ढलान, खानेपानी, बिजुली तथा टेलिफोन लाइन व्यवस्थापनलगायत काम भइरहेको छ ।(रासस)  

विशेष