सिमसिम पानी पर्दा दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ
जाजरकोट। दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, दैनिक घरहरु भत्किरहेका छन्, हामी व्यवस्थापनको समस्याले हैरान भइसक्यौँ । हाम्रो फाइल गृह मन्त्रालयमा कहिले जान्छ रु फेरि सङ्ख्या थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारीज्यू । कोभिड १९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारण हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसीएमसीको बैठकमा आइतबार अध्यक्ष शाह पीडा सुनाउँदै हुनुहुन्थ्यो । एउटा घर सग्लो छैन, आज फेरि दुई घर भत्किएको खबर छ& शाहले भन्नुभयो, समस्या असीमित छन्, स्रोतसाधन सीमित छ यसलाई हल गर्न तुरुन्तै अगाडि बढ्नुपर्ने भयो । उहाँका अनुसार गत असार २६ गतेदेखि त्रिपालमा बसेका सर्वसाधारण अझै कति समय त्रिपालकै बास बस्नुपर्ने हो थाहा छैन । विद्यालय, खुला चौर, अग्ला डाँडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । बारेकोटमा विभिन्न निकायबाट राहत पठाए पनि अझै गाउँगाउँमा सो राहत पुग्न सकेको छैन ।
बाटो भत्किएको छ, खोलाहरुमा पानीको बहाव घटेको छैन , बारेकोट ५ का प्रकाशमान सिंहले भन्नुभयो, राहत टाठाबाठाले मात्र लिएको देखियो, वास्तविक पीडितमा पुरानै घाउको डोब पुरिएको छैन । दैनिक निरन्तर वर्षाका कारण बारेकोटमा कोरोनाको त्रासभन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारण बताउँछन् । राहत वितरणमा विभेद भएको भन्दै पत्रकार वीरबहादुर गिरीको संयोजकत्वको टोलीले बारेकोटमा केही राहत वितरण गरी आइतबार मात्र फर्किएको छ । करिब रु पाँच लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो । पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी करिब रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । सङ्कलन भएको उक्त रकममध्ये रु चार लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।
पत्रकार गिरीले वडा नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका दुई घर परिवारलाई रु २०÷२० हजार, वडा नं ६ धुमामा मृत्यु भएका दुई घरपरिवारलाई रु १०÷१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई रु १० हजार र पछ्याप्री गाउँमा घर जलेका तीन घरपरिवारलाई रु सात÷सात हजारका दरले नगद पनि प्रदान गर्नुभएको छ । बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बारेकोट घर भएका प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेश समिति संयोजकसमेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । सङ्कलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाई हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिनुभयो ।
आफूहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा त्रिपालमुनि बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उहाँको विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने गिरीको माग छ । बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्याएको थियो । वडा नं ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । पहिरोले बारेकोटका अधिकांश गाउँहरु पहिरोको जोखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलो पानी पर्दा अहिले पनि जारी रहेको बारेकोटका पहिरो पीडित बताउँछन् । एक हजार २०० भन्दा बढी विस्थापित त्रिपाल तथा विद्यालयमा बसिरहेका छन् ।(रासस)