श्रीलंकाले भन्यो : हमबनटोटा बन्दरगाह चीनलाई ९९ वर्षसम्म लिजमा दिनु गल्ती
एजेन्सी- श्रीलंकाले चीनलाई हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिनु ‘गल्ती’ भएको जनाएको छ ।
श्रीलंकाली विदेश सचिव जयनाथ कोलमबागेले चीनसँग हमबनटोटा बन्दरगाह ९९ वर्ष सम्मको लागि लिजमा दिने भएको सम्झौतालाई ‘गल्ती’ भनेका हुन् ।
श्रीलंकाली टीभी च्यानलसँगको कुराकानीमा कोलमबागेले चीनसँगको सम्झौतालाई गल्ती भनेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
उनको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । सन् २०१७ मा श्रीलंकाले उक्त बन्दरगाह चीनलाई लिजमा दिएको थियो ।
उक्त कदमपछि श्रीलंकाभित्र कतिपयले आलोचना गर्दै देशलाई ऋणमा डुबाइएको तर्क गरेका थिए । श्रीलंकाको सामरिक महत्वको दक्षिण बन्दरगाह लिजमा दिएपछि छिमेकी भारत पनि असन्तुष्ट भएको थियो ।
टेलिभिजन कुराकानीमा विदेश सचिव कोलमबागेले विदेश नीतिमा भारत प्रथम रहेको बताएका छन् ।
उनले श्रीलंकाले न्युट्रल विदेश नीति अंगिकार गर्ने तर भारत प्रथमको नीतिलाई रणनीतिक र सुरक्षाका कारणले अगाडि बढाउने बताए ।