News

छ वर्षमा पनि भेटिएनन् हत्यारा

छ वर्षमा पनि भेटिएनन् हत्यारा

बागलुङ। वर्षेनि बागलुङवासीले रुपा गौतम हत्याकाण्ड सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो । हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ । काठेखोला गाउँपालिका ६ मा व्यवसाय गरी बस्ने ३६ वर्षीय गौतमको धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो । हत्यास्थल बागलुङ नगरपालिका ३ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्छ । गौतम हत्या प्रकरणमा रहस्यको पर्दा अझै उघ्रेको छैन । घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिसकेको छ । हत्यालगत्तै प्रहरीले अनुसन्धान थालेपनि पीडितपक्षले अझै न्याय पाउन सकेको छैन ।

जिल्लामा नयाँ आउने प्रहरी प्रमुखले अनुसन्धानलाई टुङ्गोमा पु¥याउने र दोषी पत्ता लगाइ छाड्ने आश्वासन दिने गरेपनि त्यो त्यतिमै सिमित बन्न पुगेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्याराको नजिक पुगेको बताउनुभयो । उहाँले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । तर, सरुवापछि जिल्ला छाडेर जाँदा उहाँले रुपा हत्या काण्ड का दोषी पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गर्नुभएको थियो । त्यतिबेला प्रहरीले घटनाका सम्भावित अभियुक्त भारतमा रहेकाले पक्राउ गर्न नसकिएको बताएको थियो । त्यसयता आउने नयाँ प्रहरी प्रमुखले पनि उक्त हत्या प्रकरणबारे धेरै प्रश्नको सामना गर्नुपरिरहेको छ । वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट बेलाबेला प्रहरीको आलोचना हुने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले अनुसन्धान जारी रहेपनि कुनै उपलब्धि हाँसिल नभएको बताउनुभयो । अहिले पनि अनुसन्धान अधिकृत तोकेर उक्त घटनामा अनुसन्धान भइरहेको छ , उहाँले भन्नुभयो, मैले पनि पहिलेको मिसिल हेरे, सिआइबीको अनुसन्धान प्रतिवेदन पनि अध्ययन गरे तर नयाँ प्रगति केही छैन ।

शङ्कास्पद देखिएका कतिपय व्यक्ति नेपालमा नरहेका कारण अनुसन्धान बीचमै अड्किएको उहाँको भनाइ छ । “घटनाको फ्लोअप भइरहेको छ , प्रउ चौधरीले भन्नुभयो, एक दिन सबै यथार्थ खुल्छ, समय भने लाग्न सक्छ ।” अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको उल्लेख गर्नुभयो । प्रहरी अपराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दोषी सार्वजनिक हुन सकेको छैन”, उहाँले भन्नुभयो । हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ । “प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुनः शुरुदेखि अनुसन्धान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “यो घटनाले न्याय हराएको जस्तो अनुभूति हामी सबैलाई भएको छ ।” घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । घटनाको प्रकृति हेरेपछि पेसेवर अपराधीबाटै गौतमको हत्या भएको निचोडमा प्रहरी पुगेको थियो । (रासस) 
 

विशेष