स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै
बाँके। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन् । राजापुर नगरपालिका ४ निवासी लक्ष्मी थारुले भन्नुभयो, सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ । राजापुर स्वास्थ्य चौकीमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उहाँले माग गर्नुभयो ।
स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताउनुभयो । राजापुर नगरपालिका—४ को वीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको छ । रासस