News ताजा खबर समाज

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने भएपछि उत्साहित वन्दै किसान

कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने भएपछि उत्साहित वन्दै किसान

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । 

गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए। महिला समूहले बनाएका मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको मस्यौरा प्रतिकिलो रु ३८० मा खरिद गरिदिने भएको छ । मूलाको सिन्की (गुन्द्रुक) प्रतिकिलो रु ४००, मूला सुकाएको चाना प्रतिकिलो रु ६०, बेसार सुकाएको चाना प्रतिकिलो रु २८५, कोदो प्रतिकेजी रु ३७ मा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बोडी प्रतिकिलो रु १५०, ग्रेडिङ गरेको मकै रु ४०, खैरो भटमास र सेतो भटमासका लागि रु ७०/७० तथा खैरो गहतका लागि रु ९० गाउँपालिकाले मूल्य तोकेको छ ।  सङ्कलन गरिएका सामग्री सम्झौता गरेको संस्थाले बुटवल लैजाने सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए।
(रासस)

विशेष