News ताजा खबर समाज

वडा प्रहरी कार्यालय नारायणगढका २६ प्रहरीलाई कोरोना सङ्क्रमण

वडा प्रहरी कार्यालय नारायणगढका २६ प्रहरीलाई कोरोना सङ्क्रमण

वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार ४ र शनिवार २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । 

यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पाँचजना निको भएका छन भने ३४ जना आइसोलेसनमा छन् । 

वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण भएको हो । कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना सङ्क्रमण भएसँगै कार्यालय सिल गरिएको छ । थापाका अनुसार वडाबाटै नमूना सङ्कलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

(रासस)

विशेष