घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएकी एक महिलाको शव फेला, १७ जना वेपत्ता
लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए। ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु’– शेर्पाले भने।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए। नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।
त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
(रासस)