News ताजा खबर समाज

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बनाउन दुई अर्बको ठेक्का

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बनाउन दुई अर्बको ठेक्का

चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो ।

सडक डिभिजन भरतपुर कार्यालयका इञ्जीनियर विजय दराईले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताए। रु दुई अर्बको लागतमा सडक विस्तार हुने उनले जानकारी दिए।

हाल दुई लेन रहेको छ किलोमिटर सडकखण्डलाई छ लेन बनाउन लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इञ्जीनियर दराईले बताए। सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।

महानगरपालिकाभित्र हाल आँपटारीबाट केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताए। यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उनको भनाइ छ ।

प्रदेशसभा सदस्य विजय सुवेदीले सडकलाई सौन्दर्य अभिवृद्धिसहित आकर्षक हरियाली सडकका रूपमा विस्तार गरिने बताए। यो सडकले स्मार्ट सिटीको झल्को दिने उनले वताए ।

विशेष