News विदेश

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दोः यूनेस्को

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दोः यूनेस्को

संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ । 

प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ । 

यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका घटना २१ रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ । 

सञ्चार क्षेत्रका गतिविधि अनुगमनसमेत गर्ने जिम्मेवारी रहेको राष्ट्रसंघीय निकाय यूनेस्कोले आफ्नो प्रतिवेदनमा भनेको छ, “प्रहरी तथा अन्य सुरक्षा बलले विगत पाँच वर्षमा गैर–कानुनीरूपमा पत्रकारमाथि हस्तक्षेप गरेको घटना बढ्दो क्रममा रहेको छ ।” 

सन् २०१५ देखि सन् २०२० बीचमा भएको प्रदर्शनमा कम्तिमा १० जना पत्रकार मारिएका प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा विश्वका विभिन्न ६५ मुलुकमा प्रहरी वा सुरक्षा बलबाट समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमण वा पक्राउ भएका घटना १२५ रहेको युनेस्कोले जनाएको छ ।

विगत पाँच वर्षमा समाचार सङ्कलनका क्रममा मारिएका पत्रकारहरू सिरिया, मेक्सिको, इजरायल, निकारागुआ, उत्तरी आयरल्यान्ड, नाइजेरिया र इराकका रहेको यूनेस्कोको तथ्याङ्कमा उल्लेख छ । 

रिपोर्टमा भनिएको छ, “ उक्त अवधिमा विश्वभरका सयौँ पत्रकारहरुलाई आन्दोलनको समाचार सङ्कलन गर्दैगर्दा दुव्र्यवहार गर्ने, धम्क्याउने वा तर्साउने, पक्राउ गर्ने, निगरानीमा राख्ने र अपहरण गर्नेगरेको साथै समाचार सङ्कलनका लागि बोकिएका उनीहरूका प्राविधिक सामान फुटाउने वा विगारिदिनेजस्ता काम भएको छ र अधिकांश घटनामा प्रहरी तथा अन्य सुरक्षा बलको सम्लग्नता भेटिएको छ ।” 

“प्रहरीले रबर वा बारूदको गोली, अश्रुग्यासलगायतको प्रयोग गरी पत्रकारमाथि आक्रमण गर्ने गरेको र यसका कारण केही सञ्चारकर्मीले एउटा आँखाको दृष्टि गुमाउनुसमेत परेको छ ।” 

अक्सर समाचार सङ्कलन गरेकै आधारमा पत्रकारहरूले प्रहरीबाट सजायको भागिदार बन्नु नपर्ने युनेस्कोले बताएको छ । “पछिल्ला वर्षहरुमा प्रेसमाथि गरिएको हमलालाई लक्षित गर्दै दण्डहीनताको मापदण्ड बनेको छ ।”

युनेस्कोका महानिर्देशक अड्रे अड्रे अजौलेले सुरक्षाको कुनै त्रासबिना पत्रकारहरूले आफ्नो काम गर्न सक्ने कुरा सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरे । 

“पत्रकारहरूको आन्दोलनको बारेमा नागरिकलाई सूचित गर्ने र जानकारी गराउने पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने।

“हामी अन्तर्राष्ट्रिय समुदाय र सबै सम्बन्धित अधिकारीहरूलाई यी आधारभूत अधिकारहरूको सुनिश्चित गर्न आग्रह गर्दछौं ।”

युनेस्कोका अनुसार विरोध प्रायः आर्थिक अन्याय, सरकारी भ्रष्टाचार, राजनीतिक स्वतन्त्रताको अभाव र बढ्दो निरङ्कुशताका बारेमा हुन्छन् । केही सरकारले सन्तुलित समाचार रोक्ने निहित स्वार्थका लागि समाचार सङ्कलनमा खटिएका पत्रकारमाथि दुव्यवहार गर्नेगरेको देखिन्छ । 

संयुक्त राष्ट्र संघले धेरै प्रस्तावहरूमा प्रेसविरूद्ध राजनीतिक नेताहरूले गरेको प्रतिकूल बयानबाजीबारे चिन्ता व्यक्त गरेको यूनेस्कोले बताएको छ ।
(रासस)

विशेष