News समाज देश प्रदेश २

नदि कटान नियन्त्रण र वस्ति जोगाउन माग गर्दै प्रदेश २ सरकारको ध्यानाकर्षण

नदि कटान नियन्त्रण र वस्ति जोगाउन माग गर्दै प्रदेश २ सरकारको ध्यानाकर्षण

सप्तरीको वलान विहुल गाउँपालिका स्थित बलान खोलाले वर्षेनी गर्ने क्षतीका विषयमा स्थानीयवासीले आईतवार प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

वलान विहुल गाउँपालिका ४ नं. वडा कार्यालयको समन्वय र पुर्व मन्त्री एमव् नेकपाका नेता उमेश कुमार यादवको नेतृत्वमा प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनललाई भेटि उनीहरुले ध्यानाकर्षण गराएका हुन्।

वलान खोलाको वाढिका कारण वडा २ को दिघिया र वडा नं. ४ बेल्हिको बस्ती असुरक्षित बन्दै गएकोले नदि नियन्त्रण गर्न खेतियोग्य जमिन कटानको समस्या समाधान गर्न ध्यानाकर्षण गराईएको नेता यादवले वताए ।

भेटघाटका क्रममा दिघिया, बेल्ही, मल्हनिया, थल्हा र प्रमाणपुर लगायतका बस्ती जोगाउन, खडग, महुलीलगायतका नदि नियन्त्रण आयोजना बनाएर प्राथमिकताका साथ काम गर्न, राजबिराजको भलुवाही नदिको वाँकी काम अघि वढाउन, बाढीले क्षति पुर्याएका सिचाइ योजना, कुलो÷पैनीलाई मर्मत र स्त्तरोन्नती गर्न आवश्यक बजेट ब्यबस्थापन गर्न अनुरोध गरिएको उनको भनाई छ।
 
यसैगरी, समृद्ध तराई–मधेस सिचाइ बिकास बिशेश कार्यक्रमको मर्म अनुसारको कार्यक्रम प्रादेशिक स्तरमा पुनः ल्याउन आग्रह समेत गरिएको उनले जानकारी दिए ।

स्थानीयवासीको ध्यानाकर्षण वुझ्दै मन्त्री सोनलले समस्यालाई गम्भीरतापूर्वक लिएको र एक साताभित्रै बलान नदिको प्रभावित क्षेत्रमा निरिक्षण गर्ने र समस्या समाधानका लागि प्राथमिक्ताका साथ काम गर्ने प्रतिवद्धता जनाएको टोलीमा सहभागि वडाध्यक्ष हंसु मियाँले जानकारी दिए ।

वलान खोलाका कारण वलान विहुल गाउँपालिका २ र ४ का वासिन्दा हरेक वर्ष त्रासमा वाँच्ने गरेका छन् । सिरहा र सप्तरीको सिमाना भएर वग्ने वलान खोलाले सुरु गरेको कटानका कारण वेल्ही गाउँनै वगाउने खतरा वढेको स्थानीयहरु वताउँछन् ।

वलान खोलामा आएको वाढिले गतवर्ष देखि नै वडा नम्वर ४ स्थित नदीको पूर्वी तटबन्धमा कटान सुरु गरेको थियो । गत असार अन्तिम साता आएको वाढिले सोहि तटबन्धमा करिव १ किलोमिटर कटान गरेपछि उनीहरुको त्रास झनै वढेको छ । वाढिका कारण ३ हजार सर्वसाधारण वसोवास गरिरहेको वेल्ही वस्ति खतरामा परिरहेको स्थानीय जिवट प्रसाद गुप्ताले वताए ।

वाढिले हरेक वर्ष कटान गर्ने र सर्वसाधारणले दुःख पाउने गरेपनि तटबन्ध मर्मत गर्नेतर्फ कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ । वाढि आएको समयमा मन्त्री, राजनितिक दलका नेता तथा विभिन्न आयोगका पदाधिकारी समेतले निरिक्षण गरेर आश्वासन दिने गरेपनि काम गर्ने विषयमा हालसम्म पनि कसैले ध्यान नदिएको उनीहरु वताउँछन् । ‘यो समस्या आज उत्पन्न भएको होईन, वर्सेनी आईरहने समस्या हो’ स्थानीय रामचन्द्र भण्डारी भन्छन्–‘तर वाढि आएको वेला समस्या देख्ने अरु वेला केहि नभए झै गरेर वस्ने सम्वन्धित निकायका कारण हामीले दुःख पाईरहेका छौं।’

गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले पनि गाउँपालिकाको प्रयासले सम्भव नहुने र प्रदेश र संघीय सरकारले वेवास्ता गर्दा समस्या ज्यूका त्यू रहेको वताउँदै आएका थिए ।

विशेष