नदिजन्य समस्या वुझन राष्ट्रिय सभा सदस्य सिंहद्वारा स्थलगत अवलोकन, सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता
सप्तरीका विभिन्न नदिहरुका कारण वर्षेनी हुने क्षतीको अवस्था वुझी समस्या समाधान गर्ने भन्दै राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले स्थलगत अवलोकन गरिरहेका छन् ।
आईतवार पनि उनले जिल्लाको पश्चिमी भेगका दुई ठूला नदीको स्थलगत अवलोकन निरीक्षण गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका सिंहले बोदे बर्साइन नगरपालिकाको पूर्वी सिमानामा रहेको खड्क नदी र पश्चिमी सिमानामा रहेको बिहुल नदीको स्थलगत अवलोकन गरे।
यि दुवै नदीका कारण बोदे बर्साइन नगरपालिकाको दुई सय विघाभन्दा बढी जमीनमा कटान तथा डुवान हुँदै आएको छ । वडा नं. २, ५, ७ र १० खड्क नदीबाट र वडा नं. १, ६ र ८ गरी सात वटा वडाहरु बर्सेनी प्रभावित हुँदै आएको बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले जानकारी दिए ।
दुई ठूला नदीको बीचमा पर्ने नगरपालिकाका जनताको बर्षायाममा जीवन कष्टप्रद बन्दै आएको बताउँदै मेयर सिंहले हरेक बर्ष बर्षायाममा दशदेखि पन्ध्र वटा गाउँहरु प्रभावित बन्दै आएको वताए ।
बिहुल नदीको बाढीका कारण कोशी पश्चिमी नहरसमेत भत्किएको छ । बिहुल नदीको पूर्वी र पश्चिमी भागमा नहर भत्किएको हो । सो क्रममा उनले खड्क नदीमा निर्माणाधिन पुलको समेत सिंहले निरिक्षण गरे। उनले सम्वन्धित वडा अध्यक्षहरुसँग समेत नदीहरुको कारण उत्पन्न समस्याहरुको बारेमा छलफल गरे।
उनले राष्ट्रिय सरोकार समन्वय समिति मार्फत नदीबाट उत्पन्न समस्याहरुको ठोस समाधानकालागि सरकारको ध्यानाकर्षण गराउने बताए।
उनले यसअघि सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका स्थित त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजली, सप्तकोशी, महुली, जिता लगायतका दर्जनबढी नदीहरुको कारण बर्सेनी हुँदै आएको डुबान, कटान तथा बालुवा थुपार्ने समस्याको स्थलगत निरीक्षण गरेका थिए ।
सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा कोशी नदीको कारण पनि प्रभावित हुदै आएका छन् भने महुली खोलाका कारण हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित छन् ।