तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने
दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।
मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए।
व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बीमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कूल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बीमा गर्ने योजना छ । कूल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ ।
सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको रु नौ लाख खर्च गरेर उनीहरुको कोरोना बीमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने–‘सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बीमा गरिदिने छौँ ।’
सहकारीको सदस्य भएमा सहकारीले रु १ सय, व्यक्तिले रु १ सय र गाउँपालिकाले रु १ सय तिर्ने गरी बीमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा बीमा गर्ने व्यक्तिले २ सय तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १ सय थप गरी बीमा गरिदिने मिश्रले जानकारी दिए।
तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बीमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा रहेको सो गाउँपालिकाका वडा नं १ का अध्यक्ष महेश काफ्लेले बताए।