News

कोभिड–१९ परीक्षण गर्दै उद्धार

कोभिड–१९ परीक्षण गर्दै उद्धार

कोरोनाको कहरका बीच मुलुकका विभिन्न क्षेत्रको सडकपेटीमा रहेका असहाय, अशक्त तथा मनोरोगीको उद्धार जारी राखिएको छ ।  कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य परीक्षण गर्दै उद्धार अभियान चलाइएको मानवसेवा आश्रम काठमाडौँले जनाएको छ ।

आज मात्रै काठमाडौँको चन्द्रागिरिबाट एक मनोरोगीको उद्धार गरिएको छ । उनको पिसिआर परीक्षणमा भने चन्द्रागिरि नगरपालिकाले सहयोग गरेको छ । सडकमा पछिल्लो समयमा यस्ता मनोरोगीको उपस्थिति बढ्न थालेको अभियानकर्मी बताउँछन् ।

देशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा लागेको आश्रमले पछिल्लो समय आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बेसहाराको उद्धार गरिरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । “हामीले उद्धारलाई पहिलेको तुलनामा कुनै कमी हुन दिएका छैनौँ, जहाँबाट फोन आउने गरेको छ, उनीलाई संरक्षण दिइरहेका छौँ, पहिले सोझै ल्याउँथ्यौँ, अहिले भने स्वास्थ्य सुरक्षा अपनाई परीक्षण गरेर ल्याउने गरेका छौँ”, अधिकारीले भने।

उनीहरुलाई परीक्षण प्रतिवेदन नआउँदासम्म छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको छ । पोजिटिभ देखिए आश्रमले तयार पारेको आइसोलेशन श्ययामा राख्ने गरिन्छ । लक्षण देखिएका र गम्भीर भएकालाई अस्पतालमा लगिने गरिएको छ । कोभिड–१९ मुक्त भएपछि मात्रै अन्यसँग राख्ने गरिएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म सडकबाट उद्धार गरिएका १६ जनामा सङ्क्रमण देखिइसकिएको छ । उनीहरुमा  कोभिड–१९ देखिँदा उद्धार र संरक्षणमा चुनौती थपिएको छ । सावधानीविना सडकमा खाना खुवाउने तथा मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फाल्दा र भीडभाडमा पुग्दा उनीहरु सङ्क्रमणमा परेको अनुमान छ ।

उक्त संस्थाले बन्दाबन्दीपछि मात्रै २ सय भन्दा बढीको उद्धार गरिसकेको छ । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा वृद्धि भइरहेको छ । पन्ध्र जिल्लाका २१ शाखामार्फत सेवा दिँदै आएको उक्त आश्रमले स्थापनाको आठ वर्ष पूरा भएर नौ वर्ष प्रवेश गर्दा अहिलेसम्म यसरी सडकमा पुगेका झण्डै चार हजारलाई उद्धार गरिसकेको छ । 

हाल एक हजार १ सय भन्दा बढीले सेवा पाइरहेका छन् । झण्डै एक हजारलाई परिवार फेला पारेर पुनःस्थापित गराइएको जनाइएको छ । 
(रासस)

विशेष