News

झापामा ‘एकका लागि एक अभियान’ मार्फत सञ्चालित पिसिआर ल्याव उद्घाटन

झापामा  ‘एकका लागि एक अभियान’ मार्फत सञ्चालित पिसिआर ल्याव उद्घाटन

झापाको कनकाई नगरपालिका–४ कोटीहोममा समुदायले तयार पारेको पिसीआर परीक्षण प्रयोगशालाको उद्घाटन भएको छ । केही दिन अघिदेखि नै कोभिड–१९ को परीक्षण हुँदै आएको ल्याबको आज प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।

सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुवाइमा झापामा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि रु एक करोड २० लाख सङ्कलन भएको थियो । सोही रकमले ल्याब स्थापना गरिएको हो । मेची प्रादेशिक अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी ल्याबमा कोभिड–१९ को परीक्षण हुँदै आएको छ ।

ल्याबमा एक दिनमा ३ सय नमूना परीक्षण गर्न सकिने ल्याबका  माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले बताए। कर्मचारी तथा प्राविधिकको व्यवस्था हुनसके एक दिनमा ४ सय जनाको परीक्षण हुनसक्ने पोखरेलको भनाइ छ । त्यहाँ राखिएको मेसिनमा एक पटकमा ९६ जनाको स्वाब परीक्षण हुने प्रयोगशालाले जनाएको छ ।

ल्याबमा कर्मचारीको व्यवस्थापन भने कनकाई नगरपालिकाले गरेको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए। ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र जिल्ला सहकारी सङ्घको समन्वयमा २५–२५ लाख रुपैयाँ प्राप्त भएको छ भने विभिन्न वित्तीय एवं सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग जुटेको छ ।
(रासस)

विशेष