रेलमा पनि ओली समर्थकको झेल !
लामो चर्चा र प्रतिक्षापछि शुक्रवार नेपाली रेल जनकपुर आएको छ । रेल हेर्न सर्वसाधारणको जनकपुरमा भिड नै लाग्यो ।
कोही आफ्ना बालबालिका र कोही वृद्ध आमाबुवालाई लिएर समेत रेल हेर्न पुगे । जनकपुरमा देखिएको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) लाई पनि बिर्सायो । कोरोनाको कुनै पर्वाह नगरी सर्वसाधारण रेल हेर्न जम्मा भए ।
रेलप्रति सर्वसाधारणको आकर्षण कति रहेछ भन्ने कुरा यसले पुष्टि गर्छ । हुन त जकपुरमा सर्वसाधारणले रेल नै नदेखेका भने होईनन्। केहि समय अघिसम्म पनि जयपुर–जनकपुर रेल संचालमा थियो । तर, वर्षाका कारण लिकमा भएको क्षतीका कारण त्यो रेल सेवा अवरुद्ध भयो । त्यसैले पनि उनीहरुमा नयाँ रेल आएको सुन्दा हेर्ने लालसा देखियो।
अर्कोतर्फ नेपालमा पनि चिप्ला रेल कुदाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेका सर्वसाधारणमा सोहि अनुसारको रेल हेर्ने अपेक्षा थियो । जनकपुर आएको रेललाई ‘केपी ओलीको सपना साकार भएको’ भन्दै अथ्र्याउनेहरुका कारण पनि जनकपुरमा सर्वसाधारण भिड लागेको पाईयो ।
तर, अथ्र्याए जस्तो जनकपुर आएको रेल प्रधानमन्त्रीको सपना भने होईन । सामाजिक संजालमा रेलका विषयमा भ्रम छरिएको जानकारहरु वताउँछन् ।
शुक्रवार आएको रेल र सञ्चालनको तयारीमा रहेको सेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो। त्यतिवेलाको सेवा भारतको जयनगरदेखि बाराको अमलेखगञ्जसम्म थियो । तत्कालिन बृटिस शासकले नेपाली जंगलको काठ ओसार्न सुरु गरेको रेल सेवाले पुर्व–दक्षिण धनुषा तथा सिरहाका सर्वसाधारणलाई सुविधा दिएको थियो । उनीहरुलाई जनकपुरसम्म पुग्ने प्रमुख साधनको रुपमा थियो–रेल।
तर, रेलको इन्जिन, डब्बा, लिक समेत निकै जिर्ण भएपछि रेल सेवा अनियमित हुँदै बन्द भएको जानकारहरु वताउँछन् । अवरुद्ध भएको रेल सेवा ब्रोडगेज मोडेलमा सञ्चालन गर्न ११ वर्षअघि नै नेपाल र भारत विच सम्झौता थियो। तर, कार्यान्वय गर्न ढिलाई भएको उनीहरु वताउँछन् ।
अहिले सामाजिक संजालमा रेलको बिषयमा मिथ्या र भ्रामक प्रचार गरेर सर्वसाधारणलाई भ्रमित गर्ने काम भईरहेको उनीहरु वताउँछन् । ‘११ वर्षअघि भएको सम्झौता वल्ल–वल्ल कार्यान्वयनमा आएको छ, अनि कसरी पुरा भयो प्रधानमन्त्रीको सपना ?’ प्रदेश २ का प्रदेश सभा सदस्य विदेश्वर यादव –विक्की) भन्छन्–‘यो रेल सेवा कतिपय प्रचार गरिए जस्तो न त प्रधानमन्त्री ओलीको सपना हो, न त उनको योजना।’
प्रदेश सभा सदस्य यादवले अव प्रधानमन्त्री ओलीले भने झै हिन्द महासागरमा चलाउने पानीजहाज र पहाडका कुना कन्दरा कुद्ने चुच्चे रेल चाहिँ कहाँसम्म आईपुग्यो सोधिखोजी गर्ने वेला आएको वताए।