News

राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै लाग्नुपर्छः प्रदेश प्रमुख परियार

राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै लाग्नुपर्छः प्रदेश प्रमुख परियार

प्रदेश नं २ का प्रमुख तिलक परियारले देशमा विद्यमान विभिन्न वर्ग, जाति, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका सबैमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले तीनै तहका सरकार र आम समुदायमा संविधानको मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्न थप उत्प्रेरणा प्रदान गरोस् भनी शुभेच्छासमेत प्रकट गरेका छन्।

प्रदेश प्रमुख परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका साथै विविध जनवर्गीय आन्दोलनहरुमा नेपाली जनताको लाखौँको सहभागिता, हजारौँ बलिदान, त्याग तपस्या र रगत पसिना बगाएर यो संविधान प्राप्त भएको उल्लेख गरेका छन् । साथै, उनले कोभिड–१९ को महामारीका कारण मुलुक प्रभावित भएको उल्लेख गर्नु हुँदै रोकथाम र उपचारका लागि रातदिन खटिने तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि र समाजसेवीलाई धन्यवाद दिनुभएको छ ।

उनले सङ्क्रमणका कारण मृत्यु हुनेहरुमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सङ्क्रमणको कारण बिरामी भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। (रासस)

विशेष