'प्रधानमन्त्री ज्यू, नाम्खाको जग्गा चिनलाई भाडामा दिएको की वेचेको ?'
हुम्लाको नाम्खामा नेपाली भुमी मिचेर चीनले ब्यापारीक भवन निर्माण गरेको विषयमा लुम्बिनी नागरिक समाजले प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ ।
करिव १ दर्जन भवन निर्माण भईसक्दा समेत स्थानीय प्रशासनले त्यस विषयमा कुनै प्रतिक्रिया नजनाएको र सरकारले पनि कुनै वास्ता नगरेको भन्दै समाजले जवाफ दिन माग गरेको हो ।
समाजका एक कार्यकर्ताले भने, ‘हुम्लामा चिनले नेपालको भुमिमा प्रवेश गरेर भवन बनाएको छ। ओलीजीले भाडामा दिनु भएको हो वा वेच्नु भएको हो ? चुट्किलामै भएपनि जनतालाई वताई दिनु पर्यो ।’
समाजले मंगलवार ‘चिनियाँ हस्तक्षेपको खेदो खन्दै, नेपालमा चीनको दादागिरी चल्दै’ भन्दै नारावाजी समेत गरेको छ ।
समाजका कार्यकर्ताहरूले ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, वौद्धिष्ट र मुस्लिममाथिको अत्याचार बन्द गर’ भन्दै चीनविरूद्द नारा लगाएका छन्।
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँहरुले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छन्।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ।
चिनियाँहरुले नेपाली भुभागमा प्रवेश गरेर एकतर्फी रुपमा नौ वटा व्यापारिक भवन बनाएको उनले जानकारी दिए। चिनका जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल हुन नसकेको उनले वताए । ‘हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमास्तम्भ छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ हुनु पर्ने हो, त्यो हराएको छ। हालसम्म पत्ता लगाउन सकिएको छैन’– उनले भने।