कोरोना विरुद्धको खोपको विकास र वितरणका लागि १५६ देशको 'कोभ्याक्स अभियान'
विश्वभरिका दुई तिहाइ जनसंख्याको प्रतिनिधित्व गर्ने १ सय ५६ देशले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अमेरिका र चीन सामेल नभएको अभियानका लागि पर्याप्त स्रोत जुटि सकेको छैन ।
कोभ्याक्स नामक उक्त सुविधाले भावी खोप वितरणमा गरिब मुलुकहरूलाई सहजीकरण गरिदिनेछ।
कोभ्याक्स अन्तर्गत अर्को वर्षको अन्त्यसम्म दुई अर्ब मात्राको खोप उपलब्ध गराइने आशा गरिएको छ तर अझैपनि उसले पर्याप्त स्रोत जुटाइसकेको छैन।
डब्लूएचओका महानिर्देशक टेड्रस एडह्यानम गेहब्रेयससले सबै देशका केहीलाई खोप लगाउनु उत्तम रणनीति हुने बताए।
महामारीबाट सबभन्दा छिटो पार पाउने हो भने कुनै देशका सबैलाई खोप लगाउने तरिका सही नहुने उनले बताए।
‘यो सबै देशको उत्तम स्वार्थसँग मिल्छ। या त हामी सबै सँगै डुब्छौँ या सबै सँगै पौडेर पार पाउँछौँ। यो महामारीबाट उम्कने र तीव्र आर्थिक सुधारमा लाग्ने छोटो बाटो भनेको कुनै देशका सबैलाई खोप लगाएर होइन कि सबै देशका केहीलाई खोप लगाएर हो’– उनले भने।
कोभ्याक्स अन्तर्गत स्वास्थ्यकर्मी, वृद्धवृद्धा तथा पुरानो रोग रहेका र जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने बताइएको छ।
अमेरिकाले द्वीपक्षीय लेनदेनमा रुचि देखाउँदै आफ्नै जनतालाई आपूर्ति गर्नमा ध्यान केन्द्रित गर्ने भनेको छ।
चीनले भने अभियानमा सहभागि हुने÷नहुने विषयमा डब्लूएचओसँग कुराकानी भइरहेको बताएको छ।
(विविसी नेपालीको सहयागमा)