News

पुनर्निर्माणमा भारतको प्रतिवद्धताः थप १ अर्ब ५४ करोड हस्तान्तरण

पुनर्निर्माणमा भारतको प्रतिवद्धताः थप १ अर्ब ५४ करोड हस्तान्तरण

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारत सररकाले नेपाललाई पुनः १ अर्ब ५४ करोड उपलब्ध गराएको छ ।

नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले वुधवार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले भुकम्पका कारण भत्किएका आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता पुरा गर्न उक्त रकम हस्तान्तरण गरिएको दुतावासले विहिवार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

भारतले आवास परियोजना अन्तर्गत १ स ५० मिलियन अमेरिकी डलर अनुदान नेपाललाई सहायता गर्ने  प्रतिवद्धता जनाएको थियो । पछिल्लो रकमसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ दुतावासले जनाएको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । जसमध्ये विद्यालय पुनर्निर्माण तर्फको ४ दशमलव २ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको जनाईएको छ ।

विज्ञप्तिमा भूकम्प पछिको पुनर्निर्माणको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

विशेष