News राजनीति

नेपाल–चिन सिमाका विषयमा सरकारले हतारमा टिप्पणी गर्योः कांग्रेस

नेपाल–चिन सिमाका विषयमा सरकारले हतारमा टिप्पणी गर्योः कांग्रेस

नपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल–चिन सिमा विवादका विषयमा सरकारको हतारमा टिप्पणी गरेको वताएका छन् ।

हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्ने विषयमा स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले टिप्पणी गर्न हतार गरेको उनको भनाई छ ।

‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको विषयमा कांग्रेसको ध्यानाकर्षण भएको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिडिओ, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसले जनाएको छ ।

टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले हेक्का नराखेको प्रवक्ता शर्माले बताएका छन् ।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ ।

‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि कांग्रेसले आरोप लगाएको छ ।

बुधबार परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका थिए । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका थिए ।

विशेष