जम्मु काश्मीर : अनन्तनागमा चेस टुर्नामेन्ट आयोजना
काठमाडौं । जम्मु काश्मीरको अनन्तनाग जिल्लामा चेस टुर्नामेन्ट आयोजना गरिएको छ । जम्मु काश्मीरका विभिन्न जिल्लामा विभिन्न किसिमका खेलकुद गतिविधिहरु भइरहेका छन् । भारत सरकारले गत वर्ग ५ अगस्तमा जम्मु काश्मीरलाई केन्द्रको शासनमा ल्याएदेखि यहाँका नागरिकहरुले स्वतन्त्रता र शान्ति महसुस गर्न पाएका छन् ।
यही क्रममा अनन्तनागमा प्रहरीले चेस टुर्नामेन्टको आयोजना गरेको हो । यस प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीको सहभागिता हुने अनन्तनाग प्रहरीले ट्विटरमार्फत जानकारी दिएको छ ।
विजेतालाई एसएसपीमार्फत सम्मान र पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीका बीचमा सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरी टुर्नामेन्ट आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा सहभागी र उपस्थित सबैले मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।