सप्तरीका ६३ वर्षिय कोरोना संक्रमितको धरानमा मृत्यु
सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार राति सप्तरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
राजविराज नगरपालिका ३ का ६३ वर्षिीय पुरुषको राती करिव साढे १ वजे मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिनाई भएपछि उनी मोरङ्गको विराटनगर स्थित बिराट मेडिकल कलेजमा भर्ना भएका थिए । समस्या वढ्दै गएपछि उनलाई धरान रिफर गरिएको थियो ।
धरानमा गरिएको परिक्षणमा भदौ ८ गते कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिरहेका वेला शुक्रवार राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनलाई मुटु रोगसहित अन्य विभिन्न दिर्घ रोग पनि रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
नियमानुसार उनको शव ब्यवस्थापनको तयारी भईरहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यो सँगै सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या १३ पुगेको छ ।