News

भारतका पुर्व केन्द्रिय मन्त्री सिंहको निधन, प्रम मोदीद्वारा दुःख ब्यक्त

भारतका पुर्व केन्द्रिय मन्त्री सिंहको निधन, प्रम मोदीद्वारा दुःख ब्यक्त

६ वर्षदेखि कोमामा रहेका भारतका पूर्व केन्द्रीय मन्त्री ८२ वर्षीय जसवन्त सिंहको आइतबार निधन भएको छ । नयाँदिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो।

बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल गरिएका सिंह त्यही बेलादेखि कोमामा थिए ।


सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारीमा थिए । राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर रहेका सिंह भारतीय जनता पार्टीका संस्थापक सदस्य हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै पूर्वमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । जसवन्त सिंहले पहिले सैनिक र पछि राजनिति मार्फत मुलुकको सेवा दत्तचित्तका साथ निभाएको उनले जनाएका छन् ।
‘अटलजीको सरकामा उहाँले महत्वपूर्ण विभाग सम्हाल्नुभयो र अर्थ, रक्षा र विदेश मामिलामा विश्वमै एक बलियो छाप छोड्नुभयो’ मोदिले लेखेका छन्–‘उहाँको निधनबाट दुःखी छु ।’

सन् २००४ देखि २००९ सम्म जसवन्त सिंह भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी दलका नेता थिए । त्यस्तै सन् २००९ मा उनी दार्जीलिङबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २०१४ को लोकसभा चुनावमा भने उनलाई भारतीय जनता पार्टीले टिकट दिएको थिएन । पार्टीले टिकट नदिएपछि उनी राजस्थानको बारमेर–जैसलमेर क्षेत्रबाट स्वतन्त्र रुपमा चुनाव लडे तर पराजित भए । लगत्तै उनलाई बीजेपीले पार्टीबाट निष्कासित गरेको थियो 

विशेष